नेपालमा भारतको सबैभन्दा बढी वैदेशिक लगानी

नेपालमा भारतको सबैभन्दा बढी वैदेशिक लगानी


काठमाण्डु-नेपालमा सबैभन्दा बढी भारतबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

२०८० असार मसान्तसम्म ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेकोमा सबैभन्दा बढी भारतबाट भित्रिएको हो ।

भारतबाट सबैभन्दा बढी १०३ अर्ब ४५ करोड (३५ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले जारी गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन–२०७९/८० मा जनाएको छ ।

आज सार्वजनिक प्रतिवेदनअनुसार यस अवधिमा चीनबाट ३५ अर्ब ४६ करोड (१२ प्रतिशत), आयरल्याण्डबाट २२ अर्ब ६२ करोड (७.७ प्रतिशत), अष्ट्रेलियाबाट १८ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिङ्गापुरबाट १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको भित्रिएको छ ।

केन्द्रीय बैंकको प्रतिवेदनमा नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५८.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको उल्लेख छ ।

औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २८५.४ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसैगरी कूल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।

नेपालमा आर्थिक वर्ष २०७५÷८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई २८५ अर्ब ५० करोड कायम रहेको प्रतिवेदनले देखाएको छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ ।

प्रदेशगत आधारमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५८.७ प्रतिशत रहेको छ । गण्डकीमा १५.१ प्रतिशत, कोशीमा १४.७ प्रतिशत, मधेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको पाइएको छ भने इक्विटीको प्रतिफल ११.६१ प्रतिशत रहेको छ ।

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुरÞ्याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्षमा प्रतिवेदन सार्वजनिक गरेको हो ।