अर्थतन्त्र सुधार उच्चस्तरीय सुझाव आयोगको बैठक बस्दै

अर्थतन्त्र सुधार उच्चस्तरीय सुझाव आयोगको बैठक बस्दै


काठमण्डु-अर्थतन्त्र सुधारका लागि सुझाव दिन सरकारले गठन गरेको उच्चस्तरीय सुझाव आयोगको पहिलो बैठक बुधबार बस्दैछ । सरकारले गत असोज २१ गते पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा आयोग गठन गरेको थियो ।

गठन भएको १५ दिनपछि आज बैठक बस्न लागेको हो । बैठकले आयोगको कार्यनीति बनाउने र सरकारलाई बुझाउने प्रतिवेदनको ढाँचा तयार पार्ने बताइएको छ ।

त्यस्तै बैठकले आयोगको प्रवक्ता तोक्ने छ । पाँच सदस्यीय आयोगमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, अर्थविद् डा. विश्वास गौचन, नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली सदस्य छन् ।

आयोगले प्रतिवेदन बुझाउन ६ महिनाको समय पाएको छ । आयोगले आर्थिक सुधारका क्षेत्र पहिचान गर्ने र अर्थतन्त्र सुधारमा नीतिगत र कानुनी मार्ग पहिचान गर्ने अर्थमन्त्रालयको अपेक्षा छ ।