काठमाण्डु- दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलोले धेरै वनजंगल जलाउनुका साथै ठुला मानवीय क्षति भएको छ ।
यो डढेला दक्षिण कोरियामा हालसम्मकै ठूलो हो । डढेलाबाट अहिलसम्म २६ जनाको मृत्यु पुष्टि भएको छ भने दशौँ हजार मानिसहरू विस्थापित भएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये धेरैजसो ६० देखि ८० वर्षीय उमेरका मानिसहरू छन् । प्रत्यक्षदर्शीहरूले आगोले आफ्ना घरहरू सखाप भइरहेको पीडादायी दृश्यहरू वर्णन गरेका छन् ।
मार्च २१ मा सुरु भएको उक्त डढेलोले धेरै सुख्खा अवस्था र तीव्र गतिको वायुले क्षतिको मात्रा बढाएको छ । डढेलो नियन्त्रणका लागि हजारौं संख्यामा अग्निनियन्त्रक र सैनिकहरू खटाइएको छ ।
दक्षिण कोरियामा डढेलो अन्यत्रको तुलनामा असामान्य मानिने हुँदा पनि यस तहको क्षति अभूतपूर्व मानिएको छ ।
अधिकारीहरूले डढेलोलाई त्यहाँ विवरण राख्न थालिए यताकै सबैभन्दा खराब बताएका छन् । डढेलो ३५ हजार ८ सय हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको अधिकारीहरूले बताएका छन् । तीन क्षेत्रमा १२० भन्दा बढी हेलिकप्टर परिचालन गरिएको छ ।
बुधबार एक अग्नि नियन्त्रक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसका पाइलटको मृत्यु भएको छ । कम्तीमा तीन जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको छ ।
देशका विपद् प्रमुखले आगलागीको मात्राले जलवायु संकटको कठोर वास्तविकतालाई उजागर गरेको बताएका छन् ।
आगलागीले सांस्कृतिक धरोहरहरूमा समेत ठूलो खतरा निम्त्याइरहेको बताइएको छ । इसङ सहरमा आगोले इस्वी संवत् ६१८ मा निर्मित त्यहाँको ठूलोमध्येको एक गौन्सा मन्दिरलाई ध्वस्त पारेको छ ।
दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रभर ऐतिहासिक कलाकृतिहरूलाई आगोको पहुँचबाट बाहिर निकाल्न मानिसहरू संघर्षरत छन् ।
मौसम पूर्वानुमानहरूमा डढेलो प्रभावित क्षेत्रमा लगभग ५ मिलिमिटर वर्षा हुने अनुमान गरिए तापनि अधिकारीहरूले त्यसलाई सजगतापूर्वक हेरेको बताएका छन् ।
प्रतिक्रिया