डढेलोले पाँच जनाको मृत्यु पछि अमेरिकाको लस एन्जलसमा आपतकाल घोषणा

डढेलोले पाँच जनाको मृत्यु पछि अमेरिकाको लस एन्जलसमा आपतकाल घोषणा


काठमाण्डु-अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो ।

वनमा लागेको आगलागीका कारण अन्य तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यसअघि अधिकारीहरूले दुई जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।

यी दुवैको मृत्यु अल्टाडेना क्षेत्रको ईटनमा भएको आगलागीका कारण भएको हो । लस एन्जलस काउन्टी फायर चीफ एन्थोनी मारोनका अनुसार ईटनको आगलागी अहिले १० हजार ६०० एकडमा फैलिसकेको छ र नियन्त्रणमा आउन सकेको छैन ।

उनले भने, ‘दुर्भाग्यवश पाँच नागरिकको मृत्यु भएको छ र केही घाइते भएका छन् । हालसम्म एक हजारभन्दा बढी घर वा भवनहरू क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।’

एन्थोनी मारोनले क्यालिफोर्निया लगायत एरिजोना बाहिरका अधिकारीहरू पनि अग्निनियन्त्रकहरूलाई मद्दत गर्न आएको बताएका छन् ।
लस एन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ । आगलागी फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै यहाँ आपतकाल घोषणा गरिएको छ र सर्वसाधारणलाई चेतावनी दिइएको छ ।