सोल । दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जङ्गलमा बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएपछि शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ ।
डढेलोका कारण एक जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका थिए ।
राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको जङ्गलमा स्थानीय समयानुसार बिहीबार राति सो आगलागी शुरु भएको थियो ।
तीव्र हावाहुरीका कारण जङ्गलको डढेलोले करिब दुई सय ५० हेक्टर वन क्षेत्र ध्वस्त भएको छ भने एक सय २५ वटा घर क्षतिग्रस्त भएका छन् ।
हजारौँ स्थानीयबासीलाई रातारात सकुसल उद्धार गरिएको थियो । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राति नै राष्ट्रिय प्रकोप व्यवस्थापन निकायसँग छलफल गरेका थिए ।
उनले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न आदेश दिएका छन् । तीव्र बेगको हावा र अँध्यारोका कारण अग्निनियन्त्रकहरुलाई डढेलो नियन्त्रणको काममा कठिनाई उत्पन्न भएको बताइएको छ ।
यस डढेलो नियन्त्रणका लागि दशभन्दा बढी हेलिकोप्टर आगलागी प्रभावित क्षेत्रमा पठाइएको छ । उद्धार कार्यमा १० हजारभन्दा बढी अग्नि नियन्त्रक, सुरक्षाकर्मी र अन्य उद्धारकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया