आज विश्व प्राथमिक उपचार दिवस

आज विश्व प्राथमिक उपचार दिवस


काठमाण्डु-आज विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ ।

तर नेपालमा प्राथमिक उपचारको अभ्यास नै नभएको देखिन्छ ।

सडक दुर्घटनाका घाइतेहरुले बेलैमा प्राथमिक उपचार नपाउने गरेको अवस्था छ । प्रहरीको तथ्याङ्कअनुसार बितेको १० वर्षमा २४ हजार ९५ जनाको मृत्यु भएको छ । यस्तै दुई लाख ६० हजार वटा भन्दा धेरै दुर्घटनामा ५० हजार जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् ।

कतिपयले घटनास्थलमै ज्यान गुमाउँछन् भने धेरैको अस्पताल लैजाँदै गर्दा र उपचारका क्रममा ज्यान जान्छ । यदि दुर्घटनास्थल र बाटोमा उचित प्राथमिक उपचार पाएमा ज्यान गुमाउने र घाइतेले भोग्नुपर्ने अपाङ्गताको समस्या कम गर्न सकिने विज्ञहरू बताउँछन् ।

यातायात सुधार सुझाव कार्यदलले गएको माघमा सरकारलाई बुझाएको प्रतिवेदनले पनि दुर्घटनाका घाइतेहरुले प्राथमिक उपचार नपाएको देखाएको छ ।

कार्यदलको प्रतिवेदन अनुसार दुर्घटनास्थलबाट घाइतेहरूलाई अस्पताल पु¥याउँदा ५४ प्रतिशतभन्दा बढी ट्याक्सी वा बाटोमा गुडिरहेका अरु गाडीको प्रयोग हुन्छ ।

जसमा प्राथमिक उपचारको व्यवस्था हुँदैन । घाइते ओसार्न प्रयोग हुने एम्बुलेन्समै पनि प्राथमिक उपचारका पर्याप्त सामाग्री हुँदैन ।