हसिनाको पलायनसँगै भारत र बंगलादेशबीच ‘माछा कूटनीति’ संकटमा

हसिनाको पलायनसँगै भारत र बंगलादेशबीच ‘माछा कूटनीति’ संकटमा


काठमाण्डु – बंगलादेशमा आगामी अक्टोबरमा दुर्गा पूजा मनाउने तयारी भइरहँदा त्यहाँबाट भारत निर्यात हुने हिल्सा माछाको निर्यातमा रोक लगाएको छ । विश्वको सबैभन्दा ठूलो हिल्सा माछा उत्पादक बंलादेशले भारतमा हिल्सा ढुवानीमा कडाइ गरेको छ ।

ढाकामा नयाँ सरकारले कार्यभार सम्हालेको एक महिनापछि सुरु गरिएको नयाँ प्रयाससँगै यी लोकप्रिय माछाका निम्ति बंगलादेशकै उपभोक्ताहरूलाई प्राथमिकतामा राखिएको त्यहाँको मत्स्य तथा पशुपन्छी मन्त्रालयकी सल्लाहकार फरिदा अख्तरले बताइन् ।

बंगलादेश हिल्सा (टेन्युअलोसा इलिशा) उत्पादनको अग्रणी हो । यो प्रजाति बंगालको खाडी र त्यस क्षेत्रका नदीमा प्रशस्त मात्रामा पाइन्छ ।

यो माछाले बंगलादेशको कुल माछा उत्पादनमा करिब १२्र प्रतिशत हिस्सा ओगटेको छ । कुल गार्हस्थ्य उत्पादनमा करिब एक प्रतिशत योगदान दिन्छ । माछा मार्नेहरूले वार्षिक छ लाख टन माछा समात्छन्, जसमध्ये अधिकांश समुद्रबाट ल्याइन्छ ।

सन् २०१७ मा यो माछाले बंगलादेशका निम्ति ‘जिओग्राफिकल इन्डिकेटर’ अर्थात् भौगोलिक सूचकको मान्यता प्राप्त गरेको थियो ।

गएका वर्षहरूमा दुर्गा पूजाका समयमा सरकारले ३,००० देखि ५,००० टनसम्म हिल्सा निर्यात गर्न अनुमित दिन्थ्यो । तर देशमै माछाको अभावको स्थितिलाई हेरेर सरकारले यो वर्ष हिल्साको निर्यातमा रोक लगाउने निर्णय गरेको छ ।

‘प्रतिबन्ध हुँदाहुँदै बंगलालादेशबाट माछा भारततिर गइराखेका छन् । यस पटक हामी हिल्सालाई सीमा काट्न दिने छैनौँ’, उनले बीबीसीसँग भनिन् ।

हिल्सा माछा बंगलादेशको राष्ट्रिय माछा हो । तर धनी र मध्यम वर्गले मात्र किन्न सक्ने र गरिबले नसक्ने भएकाले यो निकै विलासी मानिन्छ ।

‘अघिल्लो सरकारले दुर्गापूजाको समयमा प्रतिबन्ध फुकुवा गर्थ्यो । उनीहरू यसलाई उपहार भन्थे । यसपटक हामीले उपहार दिनु आवश्यक छ जस्तो लाग्दैन किनकि भारतमा ठूलो संख्यामा हिल्सा निर्यात गर्न अनुमति दिँदा हाम्रा मानिसहरूले माछा खान पाउँदैनन्,’ अख्तरले भनिन् ।

यो अडानले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको भारतसँगको प्रख्यात ‘हिल्सा कूटनीति’मा असर परेको छ । हसिनाको सरकारले चाडपर्वको समयमा माछाका खेप भारत ढुवानी गर्न अनुमति दिने गर्थिन् ।

हसिनाले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई पटकपटक हिल्सा माछा पठाएकी छन् । लामो समयदेखिको पानीसम्बन्धी विवाद समाधानको अपेक्षामा उनले सन् २०१७ मा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई ३० किलो हिल्सा माछा उपहार दिएकी थिइन् ।

विद्यार्थी नेतृत्वमा हप्तौँ लामो प्रदर्शन व्यापक राष्ट्रव्यापी अशान्तिमा परिणत भएपछि हसिना गत अगस्ट ५ मा नाटकीय रूपमा पदबाट हटाइएकी थिइन् ।

सुरुमा उनी छोटो समयका निम्ति भारतमा बस्ने अपेक्षा गरिएको थियो । तर बेलायत, अमेरिका र यूएईमा शरण प्राप्त गर्ने उनको प्रयास अहिलेसम्म असफल देखिन्छ ।

उनको निरन्तरको भारत बसाइले ढाकाको नयाँ अन्तरिम सरकारसँग बलियो सम्बन्ध विकास गर्ने दिल्लीको प्रयासलाई पनि जटिल बनाएको छ ।

बंगलादेश भारतको एक प्रमुख रणनीतिक साझेदार र सहयोगी हो । विशेष गरी उत्तरपूर्वी राज्यहरूतर्फका सीमा सुरक्षाका कारण पनि भारतका निम्ति बंगलादेश निकै महत्वपूर्ण छ ।

नयाँ अन्तरिम सरकारले हिल्साको आपूर्तिलाई अनुमति दिएर भारतलाई सद्भावनाको संकेत गर्छ कि भन्ने प्रश्नमा अख्तरले भनिन्, ‘हामी अन्य सबै तरिकाले सद्भावनाको संकेत गर्ने छौँ । उनीहरू हाम्रा मित्र हुन् । तर हामीले हाम्रा मानिसलाई अभावमा राखेर केही गर्न सक्दैनौँ ।’

निर्यात प्रतिबन्धका बाबजुद स्थानीय बजारमा हिल्साको मूल्य बढेको छ । डेढ किलो हिल्सा १,८०० टाका (१५ डलर) मा, १.२ किलो १,६०० टाकामा र एक किलो १,५०० टाकामा बेचिन्थ्यो । तर गत वर्षभन्दा अहिले यो मूल्य १५० देखि २०० टाकाले बढेको व्यापारीहरू बताउँछन् ।

सीमाका दुवैतर्फका बंगालीहरू हिल्सालाई पवित्रजस्तै मान्दछन् र यसको अभावले धेरै मानिसहरूलाई निराश बनाउने छ ।