पांच वर्षमा पहिलो पटक आइएस प्रमुख बग्दादीको भिडियो सार्वजनिक, हारको बदला लिन श्रीलंकामा आक्रमण

पांच वर्षमा पहिलो पटक आइएस प्रमुख बग्दादीको भिडियो सार्वजनिक, हारको बदला लिन श्रीलंकामा आक्रमण


एजेन्सी – इस्लामिक स्टेट (आइएस) समूहले हालै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा देखिएका व्यक्ति अबु बकर अल बग्दादी रहेको दावी गरिएको छ । पाँच वर्षपछि पहिलो पटक इस्लामिक स्टेट आईएस विद्रोही समूहले उसको नाइके अबु बकर अल बग्दादी बोलेको भिडिओ सार्वजनिक गरेको हो । भिडियोमा बोलिरहेका व्यक्ति बग्दादी हुन् या होइनन् भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

बग्दादीले सन् २०१४ मा पछिल्लो पटक भिडियो जारी गरेका थिए । त्यसयता सुरक्षा कारवाहीमा उनी घाइते भएको, मारिएको जस्ता चर्चा भए पनि उनको अवस्थाबारे जानकारी हुन सकेको थिएन । भिडियोमा अल–बग्दादीले आइएसको कब्जामा रहेका क्षेत्र गुमाउनु परेको र त्यसको बदला लिएरै छोड्ने चेतावनी दिएका छन् । भिडियो फुटेजमा अल–बग्दादीले आइएसको नियन्त्रण रहेको अन्तिम क्षेत्रका रुपमा रहेको बाघुजमा भएको हार पनि स्वीकार गरेका छन् । भिडियो कहिले रेकर्ड गरिएको भन्ने स्पष्ट भएको छैन, तर आइएसले भने अप्रिलमा लिइएको भिडियो रहेको बताएको छ । आइएसको अल–पुक्र्वान मिडियान नेटवर्कमा भिडियो पोस्ट गरिएको हो ।

अल–बग्दादीले इस्टरको दिन (अप्रिल २१) श्रीलंकाको राजधानी कोलम्बोमा भएको आक्रमण इराकी शहर बाघुजमा बेहोरेको हारको बदला रहेको दाबी गरेका छन् ।उनले बुर्किना फासो र मालीका बिद्रोही समूहसँग सहकार्य रहेको पनि बताएका छन् । यस्तै सुडान र अल्जेरियामा भइरहेको प्रदर्शनका बारेमा पनि उनले कुरा गरेका छन् ।अमेरिकी अधिकारीहरूले सो भिडिओ सन्देशको सत्यताबारे जाँच भइरहेको बताएका छन्। सिरिया र इराकमा उक्त समूहले आफ्नो नियन्त्रणमा रहेको  भूभाग गुमाए पनि आईएस विरुद्धको लडाइँ नसिद्धिएको प्रस्ट भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

सो भिडिओमा अल बग्दादी भनि चिनाइएको व्यक्तिले सिरियामा मारिएकाहरूको बदलास्वरूप आफूहरूले आठ देशमा दर्जनौँ आक्रमण गरेको बताएका छन्। श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनको जिम्मा लिँदै ती व्यक्तिले अझ लामो सङ्घर्ष जारी रहेको बताए। यस अघि सन् २०१४ मा इराकी सहर मोसुलमा क्यालिफेट घोषणा गर्ने क्रममा बग्दादी देखिएका थिए।

यसअघि रुस र इराकले हवाई आक्रमणमा अल बग्दादी सम्भवतस् मारिइसकेको भनेका थिए। अमेरिकाले चाहिँ सन् २०१७ मा भएको एक आक्रमणमा उनी गम्भीर घाइते भएको र उनलाई महिनौँसम्म युद्धभूमिबाट पर लगिएको बताएको थियो।  श्रीलंकाको राजधानी कोलम्बोमा इस्टरको दिन कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तिमा २५० जनाको ज्यान गएको थियो । घटनामा ५०० जना भन्दा बढि घाइते भएका छन् ।