‘भिजीबिलिटी’का कारण हवाई उडान प्रभावित, अहिले काठमाडौंसहितका ५ विमानस्थलमात्र खुला

‘भिजीबिलिटी’का कारण हवाई उडान प्रभावित, अहिले काठमाडौंसहितका ५ विमानस्थलमात्र खुला


काठमाण्डु-मौसम प्रतिकूल भएका कारण देशै भरको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल हुँदा ‘भिजीबिलिटी’ कमजोर भएका कारण देशैभर आन्तरिक हवाई उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुनसकेको छैन । काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ ।

आन्तरिकतर्फ काठमाडौँबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान अवरुद्ध छ ।

भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजीविलिटीका कारण उडान हुनसकेको बुद्ध एयरले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका धेरैस्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।