फ्लोरेन्स आँधी : नर्थ क्यारोलिनामा विपद अवस्था घोषणा

फ्लोरेन्स आँधी : नर्थ क्यारोलिनामा विपद अवस्था घोषणा


एजेन्सी– फ्लोरेन्स आँधीका कारण ११ जनाको ज्यान गएको नर्थ क्यारोलिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपदको अवस्था घोषणा गरेका छन् । फ्लोरेन्स आँधीका कारण आएको बाटी तथा हुरीका कारण नर्थ क्यारोलिनामा सबैभन्दा धेरै प्रभाव परेको छ ।

अहिलेसम्म ११ जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै खतरा रहेको बताइएको छ । फ्लोरेन्सका कारण तीव्र गतिमा चलेको हावाको गति ७२ किलोमिटर प्रतिघण्टामा झरेको छ, तर अझै पनि विनाशकारी बाढी आउन सक्ने चेतावनी दिइएको छ । नर्थ क्यारोलिनाका केही क्षेत्रमा पानीको मात्रा दुई फिट भन्दा बढी भइसकेको छ । क्यारोलिनाका झण्डै १० लाख घरमा विद्युत आपूर्ति बन्द भएको छ ।

राष्ट्रपति ट्रम्पले नर्थ क्यारोलिनाका आठ काउन्टीमा विपदको अवस्था घोषणा गरेका हुन् । अब यी क्षेत्रमा केन्द्र सरकारले सहयोग गर्नेछ । उद्धार तथा राहतका लागि ९ हजार सात सय भन्दा बढी नेशनल गार्ड र सर्वसाधारण परिचालन गरिएको छ । ट्रम्पले आउँदो हप्ता फ्लोरेन्स प्रभावित क्यारोलिना भ्रमण गर्ने ह्वाइट हाउसले जनाएको छ ।