वेइजिङमा अर्थमन्त्रीले भेटे चिनियां उपप्रधानमन्त्री, काठमाडौं–केरुङ रेलमार्ग अघि बढाउन सहमति

वेइजिङमा अर्थमन्त्रीले भेटे चिनियां उपप्रधानमन्त्री, काठमाडौं–केरुङ रेलमार्ग अघि बढाउन सहमति


वेइजिङ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री दिङ सुसियांगबीच भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री पौडेलले दुई सरकार र नेताहरुबीच भएका सहमतिलाई समयसीमाभित्रै कार्यान्वयनमा ल्याउन सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिएको नेपाली दूतावासले जनाएको छ ।

दुई देशबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धको प्रशंसा गर्दै भेटमा चिनियां उपप्रधानमन्त्री दिङले नेपाल र चीनबीच आपसी हितका लागि व्यावहारिक सहयोगको महत्वमा जोड दिएका थिए । उनले सम्झौताको समयसीमा कार्यान्वयनको प्रस्तावमा पनि सकारात्मक प्रतिक्रिया दिएको नेपाली पक्षले जनाएको छ ।

भेटमा दुई नेताहरु ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क अन्तर्गतका परियोजनाहरू, विशेषगरी काठमाडौं–केरुङ रेलमार्ग, सीमापार प्रसारण लाइन, किमाथाङ्का–हिले र हिल्सा–सिमिकोट सडकहरू अगाडि बढाउन सहमत भएका छन् ।

उनीहरूबीच पूर्वाधार, पर्यटन, शिक्षा, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्धलगायत विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे पनि छलफल भएको थियो ।

बैठकअघि उपप्रधानमन्त्री पौडेलले चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका अध्यक्ष लुओ झाओहुईसंग नेपाल–चीन विकास सहयोगका विभिन्न पक्षका बारेमा छलफल गरेका थिए ।

भेटका क्रममा पौडेलले पूर्वाधार विकास, कनेक्टिभिटी, व्यापार तथा यातायात, सुख्खा बन्दरगाहलगायतका क्षेत्रमा सहकार्यलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए । दुवै नेताबीच कृषि तथा औद्योगिक पार्क र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा सहकार्यका विषयमा पनि छलफल भएको थियो ।