चीन र भारतजस्ता ठूला बजारसँग हाम्रो पहुँच भएको कुरा भन्न पाउनु नै हाम्रा लागि ठूलो उपलब्धि हो-परराष्ट्रमन्त्री

चीन र भारतजस्ता ठूला बजारसँग हाम्रो पहुँच भएको कुरा भन्न पाउनु नै हाम्रा लागि ठूलो उपलब्धि हो-परराष्ट्रमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- विश्व आर्थिक मञ्च (डाभोस फोरम) को ४९ औँ वार्षिक बैठकमा नेपाललाई विश्वमा चिनाउन पाउनु उपलब्धिमूलक भएको फोरममा भाग लिएका नेपाली टोलीका सदस्यले बताएका छन् ।

टोलीमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामार्फत प्रधानमन्त्री तहबाट यति ठूलो बैठकमा आफ्नो कुरा विश्वसमक्ष राख्न पाएको, नेपाललाई विश्वमा चिनाएको र हामीले कसरी लोकतन्त्रको माध्यमबाट जनताको समृद्धिका लागि कार्य गरिरहेका छौँ भन्ने कुरा विश्वलाई बताउने अवसर पाएको बताए ।

उनले भने, ‘मञ्चको बैठकका क्रममा लगानीकर्तासँगको भेटमा कसरी हामीले राजनीतिक समस्या सुल्झाउँदै संविधान निर्माण गरी स्थायित्व प्राप्त गरेका छौँ र लगानीका सम्भाव्य क्षेत्र के छन्, कानूनी अड्चन हटाएर कसरी लगानीका लागि वातावरण बनाइरहेका छौँ भन्ने कुरा बुझाएका छौँ ।

हामीले अब नेपालमा द्वन्द्व छैन, निर्धक्क लगानी गर्न सकिन्छ र शङ्का गर्नुपर्ने अवस्था नभएको, चीन र भारतजस्ता ठूला बजारसँग हाम्रो पहुँच भएको कुरा भन्न पाउनु नै हाम्रा लागि ठूलो उपलब्धिको कुरा हो,’ मन्त्री ज्ञवालीले भने ।

टोलीमा रहेका अर्थमन्त्री डा युवराज खतिवडाले नेपालले प्रधानमन्त्रीस्तरबाटै आफ्नो राजनीतिक अवस्था, आर्थिक समृद्धिको लक्ष्य तथा लगानीको वातावरणबारे विश्वलाई भन्ने अवसर पाएको र यो निकै उपयोगी हुने बताए । उनले संविधान निर्माणपछि प्रजातान्त्रिक तरिकाले दुई तिहाइको सरकार बनाएको र कानून निर्माणलगायतका क्षेत्रमा तथा कर, भन्सार, विदेशी विनिमय सम्बन्धमा गरेका सुधारले लगानीको वातावरण बनेको सन्देश दिन सफल भएको बताए ।

उनले, आफूले यही सम्मेलन क्रममा अंकटाडको बैठकमा पनि भाग लिएको, त्यहाँ विकासोन्मुख देशमा लगानी बढ्न नसकेको चिन्ता जाहेर गरेको बताए । उनले विकासोन्मुख देशमा लगानी बढाउन लगानीको ढाँचामै परिवर्तन गर्नुपर्ने सुझाव दिएको पनि बताए । मन्त्री डा खतिवडाले निजी कम्पनीको लगानीलाई पनि सार्वजनिक र दातृ निकायको संयुक्त संरचनामार्फत भित्र्याउनुपर्ने सुझाव दिएको बताए । उनले यस्ता विदेशी लगानीका परियोजना सफल पार्न स्थानीय जनतालाई पनि शेयर प्रदान गर्नुपर्ने तथा लगानीका लागि पूर्वाधार खोज्ने प्रवृत्ति भएकोमा हाइड्रो, यातायातजस्ता पूर्वाधारका क्षेत्रमा पनि लगानी गर्न सुझाव दिएको उल्लेख गरे ।

मन्त्री खतिवडाले यही सम्मेलन क्रममा एक जापानी टेलिकम कम्पनीसँग कुरा गर्दा सो कम्पनीले नेपालमा लगानी गर्न इच्छा देखाएको र आफूले यसका लागि सहजीकरण गर्ने आश्वासन दिएको पनि बताए ।

टोलीमा रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले डाभोसमा यति ठूलो सम्मेलनमा हामीले आफ्नो स्थिति, लगानीको वातावरण, राजनीतिक स्थायित्व आदिबारे भन्न पाउनु ठुलो अवसर भएको बताए ।

‘सोही फोरममा हामीले हाम्रा व्यापारको अवस्था, दक्षिण एशिया क्षेत्रका देशबीच व्यापार बढाउनुपर्ने तथा सम्पर्क सञ्जाल बढाउनुपर्ने तथा व्यापारलाई समावेशी तरीकाले साना तथा कमजोर देशलाई पनि समेट्ने कुरामा जोड दिएका छौँ’ उनले भने ।