पत्रकार महासंघको निर्वाचन अनिश्चित भएपछि कार्यालयमा धर्ना

पत्रकार महासंघको निर्वाचन अनिश्चित भएपछि कार्यालयमा धर्ना


काठमाण्डु – नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अनिश्चित बनेको छ ।

महासंघको केन्द्रीय नेतृत्व चयनका लागि शनिबार बिहान १० बजेबाट मनोनयन दर्ताको समय तोकिएकोमा निर्वाचन समितिले बिहान विज्ञप्ति जारी गरी निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको छ ।

मनोनयन दर्ताको दिन निर्वाचनको कार्यक्रम स्थगित भएपछि निर्धारित समय असार २२ गते मतदान हुनेमा शंका गर्न थालिएको छ ।

निर्वाचन समितिले महासंघले दिएको मतदाताको अन्तिम नामावली प्रकाशित गरेपछि त्यसमा असहमति जनाउँदै प्रेस युनियन आबद्ध पत्रकारहरूले शुक्रबार निर्वाचनमा खटिएका कर्मचारीलाई हातपात गरेका थिए । नेपाल पत्रकार महासंघले राति विज्ञप्ति निकालेर हातपातको विरोध जनाएको थियो ।

निर्वाचन भाँड्न खोजेको भन्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन लगायतका पत्रकारका पेशागत संगठनले विरोध जनाएका छन् । निर्वाचनको कार्यक्रम कुनै पनि हालतमा परिवर्तन गर्न नहुने माग उनीहरूले राखेका छन् ।

निर्वाचन समितिले असहज वातावरणका कारण निर्वाचन कार्यक्रम अघि बढाउ नसकिने जनाएको छ । ‘निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया अगाडि बढिरहेको अवस्थामा तत्काल सिर्जित असहज वातावरणका कारणले तत्कालका लागि निर्वाचनको कार्यक्रम अगाडि बढ्न नसक्ने जानकारी गराइन्छ,’ शनिबार निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन समितिले नेपाल पत्रकार महासंघले तोकेको असार २२ गते निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएको छ । तर मनोनयन दर्ता प्रक्रियामा नै समस्या आएपछि तोकिएको मितिमा निर्वाचन हुने कुरामा आशंका उत्पन्न भएको छ ।

निर्वाचन प्रक्रिया रोकिएको भन्दै प्रेस चौतारी नेपाल, प्रेस संगठन, समाजवादी प्रेस संगठन लगायतमा आबद्ध पत्रकारहरूले शनिबार दिनभर नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

प्रेस युनियन आबद्ध पत्रकारहरूले गरेको अवरोध हटाउनुपर्ने, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिनुपर्ने, निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै उनीहरूले नाराबाजी गरेका थिए । सो क्रममा प्रेस युनियन आबद्ध पत्रकारहरूसँग घकेलाधकेल समेत भएको थियो ।

असमझदारी हटाई निर्वाचन प्रक्रिया अघि बढाउने विषयलाई लिएर प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’बीच केहीबेर छलफल पनि भएको थियो ।