‘फूड सिस्टम इनोभेसन च्यालेन्ज’ प्रतियोगितामा नेपाललाई सफलता

‘फूड सिस्टम इनोभेसन च्यालेन्ज’ प्रतियोगितामा नेपाललाई सफलता


ललितपुर – ‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज झाले दोस्रो स्थान हासिल गरेका छन् ।

नेदरल्याण्डमा सम्पन्न प्रतियोगितामा विश्वका विभिन्न ९ देशका १८ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा झाले ‘समूह इकोग्रब’बाट भाग लिएका थिए ।

काठमाण्डु फरेस्टी कलेजको स्नातक तहमा अध्ययनरत विद्यार्थी आशीर्वादले नेतृत्व गरेको समूहले प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको उनका भाइ अभिनमले जानकारी दिए ।

‘समूह इकोग्रब’का तर्फबाट आशीर्वादले आफ्नो परियोजनामा कालो सैनिक झिङ्गाको अनुसन्धानमा आधारित ‘इनोभेटिभ’ समाधान प्रस्तुत गरेका थिए । अनुसन्धानले खाद्य प्रणालीमा टिकाउ र दीगो समाधान खोज्नमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

कालो सैनिक झिङ्गाको प्रयोगले फोहोर व्यवस्थापन र पोषक तत्व पुनः प्राप्त गर्न मद्दत गर्दछ । जसले वातावरणीय र कृषि सम्बन्धी समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।

प्रतियोगितामा हासिल गरेको सफलतापश्चात ‘इकोग्रब’ समूह युवा खाना प्रयोगशाला कार्यक्रमको तयारीमा जुटेको छ । कार्यक्रम अक्टोबर २०२५ मा इटलीको रोममा आयोजना हुनेछ, जहाँ जीत हासिल गरेका टोलीहरू आफ्नो परियोजनालाई थप विस्तार गर्न र कार्यान्वयन गर्न अवसर प्राप्त गर्नेछन् ।