काठमाण्डु– दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रदर्शन मिति तोकिएको छ । फिल्म ०८२ सालको दसैंदेखि प्रदर्शनमा आउने भएको हो ।
निर्देशक खनालले फिल्म आगामी फूलपातीबाट प्रदर्शनमा आउने जानकारी गराएका हुन् । ‘हरिबहादुर पनि जुत्ता फुकालेर यसपालिको दसैंमा (फूलपाती) टीका लगाउन आउने भो’ उनले भने ।
एसएम मोसन पिक्चर्सले बनाउँदै गरेको फिल्म यतिबेला काभ्रेमा फिल्मको छायांकन भैरहेको छ । फिल्ममा हरिवंश आचार्यको शीर्ष भूमिकामा रहेका छन् भने फिल्मलाई हरिवंशले नै लेखेका छन् । फिल्ममा प्रकाश सपूत, प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको पनि अभिनय रहेकाे छ ।
सरोज ओली र मोहितवंश आचार्यकाे निर्माणमा बन्ने फिल्म २० वर्षअघिको चर्चित सिरियल ‘मदनबहादुर–हरिबहादुर’मा हरिवंश आचार्यले निभाएको हरिबहादुरको चरित्रमा आधारित रहेको बताइएको छ ।
यसअघि दसैंको छेको पारेर रिलिज गरिएका अधिकांश फिल्महरुले आक्रामक ब्यापार गर्ने गरेका छन् । ०८१ सालको फूलपातीमा आएका ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ले बक्स अफिसमा आक्रामक व्यापार गरे । अधिकांश निमार्ता निर्देशकले फिल्म चलाउनकै लागि भएपनि रिलिजलाई दसैंनै रोज्ने गरेका छन् ।
यो सँगै आगामी दसैंमा रिलिज हुने फिल्मको संख्या औपचारिक रुपमा ५ वटा पुगेका छन् ।
‘दशमी’, ‘परालको आगो’, ‘माइतीघर’ र ‘महाराजधिराज’ यसअघिनै आधिकारिक रुपमा फूलपातीमा प्रदर्शनमा आउने घोषणा भइसकोको मा हरिबहादुरको जुत्ता पनि थपिएको छ ।
फूलपातीमै उपेन्द्र सुब्बाको ‘जारी २’, विराज भट्टको ‘१२ गाउँ २’ र अशोक शर्माको ‘डबल ट्रिपल’ पनि प्रदर्शनमा आउने सम्भावना उच्च रहेको छ । जारी २, १२ गाउँ २ दसैंमा प्रदर्शनमा आउने चौतर्फी चर्चा रहेपनि निमार्ता निर्देशकले भने आधिकारिक रुपमा मुख भने खोलेका छैनन् ।
प्रतिक्रिया