साफ महिला च्याम्पियनशिपमा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

साफ महिला च्याम्पियनशिपमा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा


काठमाण्डु – नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो ।

नेपालले अब सेमिफाइनलमा आईतबार समूह ‘ए’को उपविजेता भारतसँग खेल्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले पहिलो हाफमा श्रीलंकाविरुद्ध ४ गोलको अग्रता लिएको थियो । पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले १/१ गोल गरिन् । सविताले खेलको आठौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको ११औं मिनेटमा नेपालका लागि सावित्राले गोल गर्दै २–० को अग्रता दिलाइन् ।

खेलको १३औं मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३–० को अवस्थामा पुर्‍याइन् । रेखाले नै खेलको ३६औं मिनेटमा थप गोल गर्दै नेपाललाई पहिलो हाफमा ४–० को अग्रता दिलाइन् ।

दोस्रो हाफमा नेपालले २ गोल मात्र गर्न सक्यो । दोस्रो हाफमा अमिशा कार्की र रश्मीकुमारी घिसिङले १/१ गोल गरे । अमिशाले खेलको ४७औं मिनेटमा तथा रश्मीले खेलको ९४औं मिनेटमा गोल गरे ।

आईतबार नै समूह ‘ए’को विजेता बंगलादेश र समूह ‘बी’को उपविजेता भुटानबीच अर्को सेमिफाइनल खेल हुनेछ ।