काभ्रेपलाञ्चोक – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित कार्यक्रमबीच नेपाल पुलिस स्कूल साँगामा सञ्चालित ३०औं अन्तर माध्यमिक विद्यालय आईजीपी रनिङ ट्रफी फूटबल प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा आईजीपी कुँवरले विजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरूलाई प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रम आईजीपी कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई उजार गर्नुको साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । विज्ञान र प्रविधिको आजको युगमा शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यावहारिक बनाउन सकेमा उपलब्धिमूलक परिणाम दिन सक्ने भएकाले विद्यार्थीहरूको बौद्धिक एवं व्यक्तित्व विकासमा सहयोग पुग्ने गरी समसामायिक शैक्षिक वातावरण निर्माणतर्फ विद्यालय परिवार सदैव क्रियाशील रहनुपर्ने उनले बताए ।
गुणस्तरीय शिक्षा र विद्यार्थीहरूको सर्वाङ्गीण विकासको माध्यमबाट विद्यालयको शैक्षिक र व्यवस्थापकीय सुधार विद्यालयको प्राथमिकता रहने विश्वास लिएको उनले उल्लेख गरेका छन् ।
कार्यक्रममा अखिल नेपाल फूटबल संघका उपाध्यक्ष दावा लामा र बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहालले प्रतियोगिताका रनरअप टीमलाई मेडल र प्रमाणपत्र वितरण गरे । काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेशकुमार ढकाल र अखिल नेपाल फूटबल संघ (एन्फा) उपमहासचिव बद्री भट्टराईले प्रतियोगिताका सेकेण्ड रनरअप टीमलाई मेडल तथा प्रमाणपत्र वितरण गरे ।
शुक्रबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टीमले नेपाल पुलिस स्कुल साँगा (रातो) टीमलाई ३–० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टीम प्रथम, नेपाल पुलिस स्कुल साँगा (रातो) टीम द्वितीय र नेपाल पुलिस स्कूल धरान टीम तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम हुने टीमले ६० हजार, द्वितीय हुने टीमले ४० हजार र तृतीय हुने टीमले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा नेपाल पुलिस स्कूल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल पुलिस स्कूल साँगाका विद्यार्थीहरूद्वारा नृत्य तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा ब्यान्ड डिस्प्ले गरिएको थियो ।
मंसिर १८ गतेदेखि शुरू भएको प्रतियोगितामा नेपाल पुलिस स्कूल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कूल धरान, चितवन, दाङ र सामाखुसी, सैनिक आवासीय माध्यमिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६ टीमको सहभागिता थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावक, स्थानीय वासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया