एन्फा महिला लिगको शीर्षस्थानमा उक्लियो पुलिस क्लब

एन्फा महिला लिगको शीर्षस्थानमा उक्लियो पुलिस क्लब


काठमाण्डु – नेपाल पुलिस क्लब एन्फा महिला लिगको शीर्षस्थानमा उक्लिएको छ ।

मंगलबार भएको अन्तिम चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २–० ले हराउँदै शीर्षस्थानमा स्थान बनाएको छ । ३ खेल खेलेको पुलिसले ७ अंक बनाएको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले आठौं मिनेटमा अग्रता बनाएको हो । बिर्सना चौधरीको पासमा कप्तान नीरू थापाले हानेको प्रहार गोलमा परिणत भएको थियो ।

बागमतीले पहिलो हाफमा पोष्ट अट्याक गर्न नसक्दा पुलिस १–० ले अगाडि बढेको थियो । सुरुबाटै खेलमा पकड बनाएको पुलिसले ८२औं मिनेट दोस्रो गोल गर्‍यो । राष्ट्रिय टीमकी सदस्य पूजा रानाले दोस्रो गोल गरेकी थिइन् ।

लिगअन्तर्गत बुधबार वालिङ र आर्मीबीच खेल हुनेछ । लिगको दोस्रो चरणमा ५ टीमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणमा कूल २४ खेल हुनेछन् । २० खेलपछि ४ टीमले प्लेअफका स्थान बनाउनेछन् ।

माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागीय टोलीहरू नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, आर्मी, वालिङ नगरपालिका र बागमती सहभागिता छन् ।