ए डिभिजन फुटबललाई कतार एयरवेजले दियो एक करोड ७० लाख

ए डिभिजन फुटबललाई कतार एयरवेजले दियो एक करोड ७० लाख


काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप एक करोड ७० लाख उपलब्ध गराउने छ ।

कतार एयरवेजले एन्फालाई दुई चरणमा रकम उपलब्ध गराउनेछ । एयरवेजले पहिलो चरणमा एक करोड दुई लाख तथा दोस्रो चरणमा ६८ लाख प्रदान गर्नेछ । यसवापत एन्फाले हरेक सहभागी टोलीको जर्सीमा कतार एयरवेजको लोगो प्रयोग गर्नुपर्नेछ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र एयरवेजका देशीय निर्देशक मोहमद इमानले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । एन्फा अध्यक्ष शेर्पाले कतार एयरवेजसितको सम्झौताले लिग आयोजना गर्न सहज भएको बताए ।

प्रतियोगितामा सहभागी हुने क्लबलाई तयारीस्वरुप प्रतिक्लब २० लाख उपलब्ध गराउने अध्यक्ष शेर्पाले बताए । शनिबारदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगमा १४ क्लब खेल्दैछन् । लिगको पुछारमा रहने एउटा टोलीको घटुवा हुनेछ । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथोले १५ लाख, पाँचाँैले सात लाख र छैटौ हुनेले पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । हरेक खेलको विजेताले ५० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ ।

यस्तै प्रतियोगिताका उत्कृष्ट पाँच स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलकीपर र प्रशिक्षकले जनही एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार तथा प्रतियोगिताको फेयर प्ले टिमले एक लाख पुरस्कार पाउनेछ । लिगको उद्घाटन खेल दशरथ रङ्गशालामा मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लबबीच हुनेछ ।