प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल : आज दुई खेल हुँदै

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल : आज दुई खेल हुँदै


काठमाडौं – प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको दोस्रो दिन सोमबार दुई खेल हुदैछन् । आइतबारबाट सुरु भएको उक्त खेल प्रतियोगितामा आज सशस्त्र प्रहरीको एपीएफ र सिक्किम युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल दिउँसो २ बजेबाट ललितपुरको लगनखेलमा सुरु हुनेछ । राष्ट्रिय खेलाडीहरुको साथ रहेको बलियो टोली एपीएफ पाहुना टोलीलाई हारको स्वाद चखाउने योजनामा छ ।

सोमबारै हुने अर्को खेलमा विभागीय नेपाल पुलिस क्लव र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ । खेल, भद्रकालीस्थित नेपाल आर्मीको मैदानमा दिउँसो २ बजे सुरु हुनेछ । तीन विभागीय, दुई विदेशी तथा तीन प्रदेशको फुटबल टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन्। प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्ने नेपाली ससेनाले जनाएकाे छ ।