सातौं पीएम कप महिला भलिबलः आज लुम्बिनी प्रदेश र आर्मी क्लव भिड्दै

सातौं पीएम कप महिला भलिबलः आज लुम्बिनी प्रदेश र आर्मी क्लव भिड्दै


बाँके – सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता शनिबारदेखि नेपालगन्ज रंगशालामा सुरु भएको छ ।

‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ बाँके जिल्ला भलिबल संघले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको सुभारम्भ मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी (नमुना) र प्रतियोगिताका सद्भावनादूत मिस नेपाल नम्रता श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।

२०७० सालदेखि सञ्चालनमा रहेको प्रतियोगितामा नेपाल प्रहरी, एपीएफ, त्रिभुवन आर्मी, न्यूडायमण्ड र लुम्बिनी प्रदेशका गरी ५ टीमको सहभागिता रहेको छ ।

फागुन २१ देखि २५ गते सम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा संचालन हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । वेस्ट अफ फाइभका आधारमा खेलाईएको खेल अन्तगर्त नेपाल पुलिस क्लबले न्यूडाइमन्ड एकेडेमीलाई ३–२ सेटले जित हासील गरेको हो ।

खेलको पहिलो सेटमा नेपाल पुलिस क्लवले न्यू डायमण्ड क्लवलाई २५–१९ ले पराजित गर्दा दोस्रो सेटमा न्यू डायमण्डले नेपाल पुलिस क्लवलाई २८–२६ ले पराजित गरेको थियो । त्यस्तै तेस्रो सेटमा पुलिस २५–१९ ले विजयी हुँदा पुनः न्युडाइमन्डले २५–१७ ले जित हात पारेको थियो । खेलको निर्णायक पाँचौँ सेटमा पुलिसले १५–८ ले जित हात पारेको थियो ।

यसैगरी आजै दोस्रो खेल लुम्बिनी प्रदेश र नेपाल आर्मी क्लवबीच भइरहेको छ । यस पटकको प्रधानमन्त्री कपमा प्रथम हुनेले पाँच लाख, दोस्रो हुनेले दुई लाख, तेस्रोलाई एक लाख र चौथोलाई ५० हजार रुपैयाँ तथा ट्रफीको व्यवस्था गरिएको आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।