फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लियो

फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लियो


काठमाण्डु – विश्व फुटबल महासङ्घ (फिफा)वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ६८ औं स्थानमा छ ।

यसअघिको वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा रहेकोमा अहिले सुधार भएर १६८ औं स्थानमा पुगेको हो । यो बीचमा नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासंग खेलेको थियो । यस्तै इराकसंग मैत्रीपूर्ण खेल पनि खेलेको थियो ।

चाइनिज ताइपेईलाई नेपालले हराएको थियो भने अरु संग पराजित भएको थियो । आफू भन्दा माथिल्लो वरियतामा रहेको टिमलाई हराएकोले नेपालले यस पटक अंक जोड्न सफल भयो ।

दक्षिण एसियामा भारत सबैभन्दा अघि १०५ औं स्थानमा छ । यस्तै माल्दिभ्स १५८ औं स्थानमा झरेको छ । विश्व वरीयतामा बेल्जियम शीर्षस्थानमा यथावत रहेको छ भने ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ ।

एशियाका शीर्ष तीन जापान, इरान र अस्ट्रेलिया विश्ववरीयामा क्रमश २४, २६ र २८ औं स्थानमा छन्।