काठमाण्डु – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १-१ गोलको बराबरी खेलेका छन् । लिगको पहिलो खेलमै साविक उपविजेता आर्मीले ३ अंक लिने मौका गुमाएको छ । तीन पटकको च्याम्पियन पुलिसलाई खेल अवधिभर दबाबमा राखेको आर्मीले दोस्रो हाफको सुरुवातमै गोल खाएको थियो ।
आर्मीका राइट ब्याक गौतम श्रेष्ठले ५०औं मिनेटमा विपक्षी टोलीका बुद्ध बल तामाङलाई फाउल गरेसँगै पुलिसले फ्रि-किक पाएको थियो । तामाङले ५१औं मिनेटमा दायाँतर्फबाट प्रहार गरेको फ्रि-किकमा पुलिसका डिफेन्डर सन्तोष हेमरुनले हेडरमार्फत गोल गर्दै नेपाल पुलिस क्लबलाई अग्रता दिलाएका थिए । त्यसको ११ मिनेट नबित्दै आर्मीका सब्स्टिच्युट खेलाडी विवेक बस्नेतले पेनाल्टी एरियाको ठिक अगाडिबाट सुन्दर बराबरी गोल फर्काएका थिए ।
पुलिसविरुद्ध १-० ले पछि परेसँगै पुलिसको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको आर्मीले गोलपछि पनि लगातार गोलका लागि प्रयास गरेको थियो । पहिलो चरणको अन्तिम खेलमा सोमबार साविक विजेता मच्छिन्द्र क्बलले न्युरोड टिम (एनआरटी) सँग खेल्ने छ ।
प्रतिक्रिया