फोरम र नेकपाको पार्टी एकीकरण सम्भावना छैन् : संघीय समाजवादी फोरम

फोरम र नेकपाको पार्टी एकीकरण सम्भावना छैन् : संघीय समाजवादी फोरम


काठमाडौं – संघीय समाजवादी फोरम नेपालले पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको बताएको छ ।

अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गर्दै केही दिनयता नेकपासँग एकीकरण हुन लागेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचारहरु प्रसारण भएकोमा संघीय समाजवादी फोरमले उक्त कुरामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त कुराको खण्डन गरेको हो ।

उनले ती सबै समाचारमा सत्यता नरहेको स्पष्ट पनि पारेका छन्। यसअघि फोरमको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग एकीकरण गर्ने निर्णय गरेको थियो।

‘फोरम नेपाल र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको अवस्थामा पनि पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार गरिँदैछ। जनतामा गलत सन्देश दिने नियतले प्रचारित यस्ता प्रायोजित एवं निराधार समाचारमा कुनै सत्यता नरहको स्पष्ट पार्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।