क्यानडाका पूर्वमन्त्रीले संसदीय अभ्यासबारे राजपाका नेतालाई संसदीय दिए प्रशिक्षण

क्यानडाका पूर्वमन्त्रीले संसदीय अभ्यासबारे राजपाका नेतालाई संसदीय दिए प्रशिक्षण


काठमाडाैँ- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई क्यानडाका पूर्वमन्त्रीले संसदीय अभ्यासबारे प्रशिक्षण दिएका छन् । बुधबार काठमाडौँको कुपन्डोलस्थित एक होटलमा पूर्वमन्त्री एवं सांसद जेरारड ल्याटिलिपले राजपाका १७ जना सांसदलाई प्रशिक्षण दिएका हुन् ।

युएसएड र एनडीआईको आयोजनामा बुधबार भएको उक्त कार्यक्रमको उद्घाटन राजपाका संयोजक महन्थ ठाकुरले गरेका थिए । उक्त कार्यक्रममा क्यानडाका पूर्वमन्त्री जेरारडले सांसदहरुलाई सदनमा कसरी बस्ने, कस्तो हाउभाउ देखाउनेलगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

सदनमा ढंग नपुर्याइ बस्दा क्यानडाका विभिन्न मिडियामा सांसदहरुको बदनामी भएको बताउँदै जेरारडले राजपाका सांसदहरुलाई पनि संयमित भएर बस्न सुझाव दिए । बस्दा खुट्टाको आसनलाई पनि ध्यान दिनु पर्ने उनले बताए ।

उनले सदनको बैठकमा मोबाइल फोनको प्रयोग नगर्न सुझाव दिए । करिब दुई घण्टासम्म चलेको प्रशिक्षण कार्यक्रममा समग्रमा संघीय लोकतन्त्र र संसदीय अभ्यासका विषयमा छलफल भएको राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लालले बताए ।