विमानस्थलबाट ४७ तोला सुनसहित चार पक्राउ

विमानस्थलबाट ४७ तोला सुनसहित चार पक्राउ


काठमाडौँ- महानगरीय प्रहरी परिसरले ४७ तोला सुनसहित चार जनालाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली तस्करी गरेको आरोपमा धनुषाका महमद सेफुल्ला, सर्लाहीका रवि महतो, सिरहाका रामपुकार महतो र धनुषाका आशिष महतोलाई पक्राउ गरेको छ ।

जसमध्ये सेफुल्लालाई आइतबार र महतोत्रयलाई सोमबार गौशालाबाट पक्राउ गरेको हो । उनीहरूले कतारबाट अवैध रुपमा तस्करी गरेर सुन नेपाल ल्याएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

उक्त सुनको नेपाली मूल्य रु २७ लाख ४८ हजार ६७५ रहेको छ । पक्राउ परेका चारै जनालाई आज कानूनी कारबाहीका लागि राजश्व अनुुसन्धान विभाग पुल्चोक पठाएको परिसरले जनाएको छ ।