चारपटक मन्त्री बनेका गिरिराजमणिकाे खातामा ३ लाख मात्र !

चारपटक मन्त्री बनेका गिरिराजमणिकाे खातामा ३ लाख मात्र !


काठमाडाैँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री पोखरेलले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको विवरण अनुसार मन्त्री पोखरेलको नाममा एभरेष्ट बैंकमा रहेको खातामा ३ लाख ६७ हजार रुपैयाँ रहेको छ । सो सम्पत्तिको स्रोतमा संविधानसभा सदस्य, मन्त्री र व्यवस्थापिका संसदको सदस्य हुँदाको पारिश्रमिक भनिएको छ । यसैगरी उनको नेपाल बंगलादेश बैंकमा रहेको खातामा १३ हजार १ सय १३ रहेको छ । उक्त सम्पत्तिको स्रोतमा जनएकता साप्ताहिकको सम्पादक हुँदाको पारिश्रमिक भनिएको छ ।

रुपाकोट सामुदायिक रेडियो खोटाङमा ५ हजारको शेयर रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।खोटाङको समावेशी गाउँपालिका वडा नं २ मा २३ रोपनी क्षेत्रफर रहेको दुई कित्ता जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ । उक्त जग्गा स्मृति प्रतिष्ठानलाई प्रदान गर्ने उनले उल्लेख गरेका छन् ।

चारपटक मन्त्री

दोस्रो जनआन्दोलन पश्चात गठित गिरीजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा २०६३ सालमा पहिलो पटक पोखरेल स्वास्थ्यमन्त्री बनेका थिए । दोस्रो पटक पनि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी वहन गरेका थिए ।

केपी शर्मा ओली नेतृत्व पहिलो सरकारमा उनी शिक्षा मन्त्री बनेका थिए भने शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनले स्वास्थय मन्त्रालयको जिम्मेवारी सम्हाल्दा केपी ओली नेतृत्वको वर्तमान सरकारमा उनी शिक्षा मन्त्री बनेका छन् ।

यसअघि कानून मन्त्री शेरबहादुर तमाङले मन्त्रलय सम्हाले लगत्तै सम्पति विवरण सार्वजनिक गरेका थिए । ओली नेतृत्वका अन्य मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।