फ्रान्सका विदेश सचिव गुर्दो नेपाल आउँदै

फ्रान्सका विदेश सचिव गुर्दो नेपाल आउँदै


काठमाडौ‌ – नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपाल आउने भएका छन्। दुई दिवसीय भ्रमणमा उनी पुस २५ गते काठमाडौं आउने छन्।

परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा गुर्दो नेपाल आउन लागेका हुन्। गुर्दो नेपाल आएकै दिन दुई देशका विदेश सचिवको नेतृत्वमा द्विपक्षीय परामर्श संयन्त्रको बैठक हुनेछ। बैठकमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने तथा पारस्परिक हित र लाभका समग्र विषयमा विचारविमर्श हुने सचिव वैरागीले जानकारी दिए।

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेश आगामी अप्रिल २० तारिखमा हुने तथा त्यसपछि वर्षभरि दुवै देशले आयोजना गर्ने विविध कार्यक्रमबारे पनि आफूहरूबीच छलफल हुने उनले बताए।

बैठकपछि दुवै देशका परराष्ट्र सचिवले परराष्ट्र मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ। यसअघि सचिव वैरागीले आफ्ना समकक्षीसँग गत कात्तिक २६ गते पेरिसमा भेटवार्ता गरेका थिए।