हनुमान ढोकाको दशैंघरमा भित्र्याइयो फूलपाती

हनुमान ढोकाको दशैंघरमा भित्र्याइयो फूलपाती


काठमाण्डु – आश्विन शुक्ल सप्तमीका दिन बिहीबार राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना हुने हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।

गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरबाट काठमाण्डुको जमलसम्म काठमाण्डुबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

जमलबाट हनुमान ढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगान सहितको लावालस्करका साथमा फूलपाती ल्याइएको थियो । यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट गएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उनले बताए ।

हनुमानढोका दरबारको नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दशैंघरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्रकालमा रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ ।

यस वर्ष पनि संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे फूलपाती भित्र्याउने कार्यक्रममा सहभागी भएका थिए ।