सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद

सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद


काठमाण्डु – सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट मंगलबार राति प्रहरीले ६९० किलोग्राम गाँजा बरामद गरेको छ ।

सरकारी नम्बर प्लेट भएका २ गाडीहरूमा लुकाएर ओसारपसार हुँदै गरेको गाँजा प्रहरीको फेला पारेको छ ।

प्रहरीका अनुसार बा१झ ४६०५ नम्बरको स्कोर्पियो गाडीबाट ३३० किलोग्राम गाँजा बरामद गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा गाडीको नम्बर प्लेट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडी नम्बरसँग मिलेको पाइएको छ । गाडीका चालक ३६ वर्षीय श्यामकुमार विकलाई पक्राउ गरिएको छ ।

अर्को गाडी बा१झ ५१२७ नम्बरको स्कोर्पियो प्रहरीले तलासी गर्दा ३६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको छ । यो सरकारी गाडी आन्तरिक मामिला तथा कानून मन्त्रालयको गाडी नम्बरसँग मेल खाएको छ ।

गाडीहरूमा गाँजा लुकाएर ढुवानी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले तत्काल छानबिन सुरू गरेको हो । विकलाई पक्राउ गर्दा गाडीको चालक भाग्न सफल भएकोमा गाडी फेला पारेर तलासी गर्दा गाँजा समातिएको थियो ।