गगन थापाको चिन्ता : कांग्रेसलाई त माओवादीले मात्रै होइन, राप्रपाले पनि खेलाइदिन थाल्यो

गगन थापाको चिन्ता : कांग्रेसलाई त माओवादीले मात्रै होइन, राप्रपाले पनि खेलाइदिन थाल्यो


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रले मात्रै नभई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत खेलाइदिन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

गोरखा जिल्लामा आयोजित दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसको माओवादीकरण हुनबाट रोक्नुपर्ने बताए ।

उनले भने, ‘जनताले अहिले कांग्रेस कांग्रेस जस्तो होस् भन्ने चाहेका छन् । कांग्रेसको माओवादीकरण नहोस्, त्यसलाई रोक्नुपर्छ तर त्यसलाई रोक्नुपर्छ भनेर फेरि प्रतिक्रियामा आएर एमालेकरण नहोस्, कांग्रेसको राप्रपाकरण पनि नहोस् । कांग्रेसलाई कहिले एमालेले खेलाइदिने, कहिले माओवादीले खेलाइदिने हुँदाहुँदा कहिलेकाहीँ त राप्रपाले पनि खेलाइदिन थाल्यो ।’

उनले महासमितिको बैठकले चुनावअघि कुनै तहको निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गर्नुपर्ने बताए । उनले भने, ‘नेपालमा मात्रै होइन, धेरै देशहरूमा अभ्यास छ । निर्वाचनमा कसैले बहुमत ल्याएन भने गठबन्धन बन्छ । फरक राजनीतिक दलहरूबीच गठबन्धन गर्दा हाम्रो विचार र कुरा मिल्दैन । त्यसैले साझा न्यूनतम कुरा भनेर बनाउनुपर्छ । के नेपाली कांग्रेसले फागुन १ गते जनयुद्ध दिवस भनेर मनाउन सक्छ ? हामी माओवादीसँग सरकारमा छौं । अहिले मात्रै होइन म प्रचण्डको क्याबिनेटमा बसेर आएको हो । कांग्रेस र माओवादीको सरकार अहिले मात्रै बनेको होइन । हामी सरकारमा गइसकेपछि कोही कसैसँग लतारिने होइन । हामीले सरकार बनाउने बेलामा नै प्रस्ट भन्न सक्नुपर्छ, बरु बन्दैन भने बन्दैन ।’