कांग्रेसले एउटा चुनाव हार्नु र जित्नुले फरक पार्दैन : महामन्त्री थापा

कांग्रेसले एउटा चुनाव हार्नु र जित्नुले फरक पार्दैन : महामन्त्री थापा


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका लागि एउटा चुनाव हार्नु र जित्नुले फरक नपार्ने बताएका छन् ।

आज शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा सानेपामा आयोजित कार्यक्रममा उनले गौरवपूर्ण इतिहास भएको कांग्रेसका लागि १–२ वटा चुनावको हारजीतले असर नपार्ने बताए ।

उनले २०८४ सालको चुनावको चिन्ता गर्न आवश्यक नभएको बताए । ‘हामी २०८४ सालको चुनावको चिन्ता गरिरहेका छौं । त्यसो गर्ने होइन । एउटा चुनाव कांग्रेसले हार्नु–जित्नुको मतलब छैन । हामी सरकारमा बसौंला, भूइँमा बसौंला, चकटीमा बसौंला । मुख्य कुरो जनताको हित हो,’ उनले भने ।

२००६ सालमा राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसको एकीकरण भएर नेपाली कांग्रेस बनेको सम्झनामा माघ १२ गतेलाई स्थापना दिवसका रूपमा अब प्रत्येक वर्ष मनाउने उनले बताए ।

भोलि शनिबारदेखि सुरु हुने समुदायका कांग्रेस अभियानमा सबैलाई सहभागी हुन उनले आह्वान गरे । काठमाण्डु वा सदरमुकाम नबस्न आग्रह गर्दै उनले आफ्नै वडामा पुग्न आग्रह गरे ।

‘माघ १६ गते कोही पनि नेताको घरमा देखिनु हुँदैन । जिल्लामा बस्ने, केन्द्रमा होइन, वडामै भएको कार्यक्रमको फोटो सामाजिक सञ्जालमा राख्नुहोस्,’ उनले भने ।