काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई २०८४ सालसम्म भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताउँदै त्यसका लागि शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन् ।
मंगलबार नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्नुपर्ने बताए ।
आमनागरिकले भ्रष्टाचारका कारण देशले गति लिन नसकेको गुनासो गरिरहेका बेला जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरूको अख्तियार वा सर्वशक्तिशाली आयोग बनाएर अनुसन्धान गर्नुपर्ने बताए ।
२०८४ सम्ममा नेपाली समाज भ्रष्टाचारमुक्त बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए । उनले भने, ‘आमनागरिकले भ्रष्टाचारकै कारणले गर्दा हामीले गति लिन सकेनौं भन्ने सोच्छ । भ्रष्टाचारले हामीलाई यति गाँज्यो कि हामीले ठीक गति समात्न सकेनौं भन्ने कतिलाई लागेको छ भने यही ३ वर्षभित्रमा नेपाली समाज भ्रष्टाचारका सन्दर्भमा अहिले जुन अवस्थामा हामी छौं । त्यसलाई न्यून गर्ने कुरामा ध्यान दिनुपर्छ । जति नेपाली जनताले सुनेका काण्डहरू छन् । त्यो चाहे वाइडबडी काण्ड होस्, ललिता निवास काण्ड होस्, गिरिबन्धुको होस्, सिभिलको होस् । जति पनि छन्, लामो लिस्ट बन्छ, त्यो लिस्ट राख्ने, त्यो लिस्ट राखेर जनतालाई आश्वस्त पारौं । यसभित्र भएको प्रत्येक काण्डहरू अख्तियारले गर्छ, हामीलाई विश्वास छ । अख्तियारले गर्न सक्दैन, कुनै एउटा सर्वशक्तिशाली आयोग बनाउनुपर्छ, बनाऔं ।’
अनियमिततामा दोषी ठहर भएको खण्डमा शक्तिशाली भनेर छोड्न नहुने उनले बताए । नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन भन्ने सन्देश दिनुपर्ने उनले बताए ।
प्रतिक्रिया