काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पटक–पटक स्पष्टीकरण सोधेर गरिरहेको व्यवहार ठीक नभएको भन्दै आपत्ति जनाएका छन् ।
शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले सरकारले कुलमानलाई किचकिच गरिरहेको जस्तो देखिएको बताए ।
‘एउटा सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिन्छ । किचकिच किचकिच गरिरहेको जस्तो देखिन्छ,’ उनले भने, ‘यस्ता कुराहरू ठीक होइनन्, उपयुक्त हुँदैन । यस्ता नचाहिने काममा कोही पनि मन्त्रीहरू पनि लाग्नु हुन्न ।’
मन्त्रीहरू नचाहिने काममा लागे रोक्ने कार्य प्रधानमन्त्रीको भएको उनले स्मरण गराए । ‘प्रधानमन्त्री भनेको सरकारको, त्यो क्याबिनेटको मास्टर हो,’ उनले भने, ‘उसले राम्रो कामको श्रेय पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ ।’
कुलमानतर्फ संकेत गर्दै उनले ३–४ महिनापछि सेवानिवृत्त भएसँगै उपयुक्त व्यक्ति ल्याउन सकिने सुझाव उनले दिए । ‘मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको बेढंग हो, ३/४ महिनामा सेवानिवृत्त हुने, ३/४ महिनापछि सेवानिवृत्त भइसकेपछि एउटा उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने,’ उनले भने ।
प्रतिक्रिया