कांग्रेसले रुवाबासी गर्ने होइन, समाधान दिनुपर्छ : महामन्त्री थापा

कांग्रेसले रुवाबासी गर्ने होइन, समाधान दिनुपर्छ : महामन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीले समस्या देखाएर मात्र नहुने बताउँदै समाधान दिनसक्नुपर्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनद्वारा शुक्रबार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको बताए ।

कांग्रेसले नेपालमा रहेको रोजगारीको समस्याको समाधान दिनसक्नुपर्ने भन्दै उनले निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुनुपर्ने बताए ।

मुलुकमा विद्यमान समस्याका सम्बन्धमा पार्टीले रुवावासी गर्ने नभई समाधान दिने गरी पार्टीको कार्यशैली र दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनले बताए ।

‘कांग्रेस पार्टीले अब समस्या मात्र देखाएर हुँदैन । कांग्रेस पार्टीले अब समाधान पनि दिनुपर्छ । हामी समाधान दिने पार्टी हो, हाम्रो ड्युटी हो यो । नेपाली कांग्रेस पार्टीले नेपालमा रोजगारीको समस्या छ, समाधान दिने हो । वैदेशिक रोजगारीको क्षेत्रलाई थप राम्रो बनाउने हो । अब पार्टीको काम गर्ने तरिका पनि बदलिनुपर्छ । पार्टीको दृष्टिकोण पनि बदलिनुपर्छ । अब हामीले गनगन गर्ने पनि होइन, रुवाबासी गर्ने पनि होइन । अब समस्या भएको क्षेत्रमा कांग्रेस छ र समाधान दिन्छ भन्ने पार्टी बनाएर जान आवश्यक छ,’ उनले भने ।

वैदेशिक रोजगारीमा देखिएका समस्याहरूको समाधान गर्नका लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर अभियान सञ्चालन गरेको उनले बताए । उनले वैदेशिक रोजगारीमा कस्ता मान्छेहरू गइरहेका छन् भन्नेबारे विश्लेषण गर्न एशोसिएशनसँग सहकार्य गर्न चाहेको बताए ।

उनले भने, ‘वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कारको क्षेत्र, गालीको क्षेत्र होइन, हामी सँगसँगै बसेर कस्ता मान्छे काम गर्न गएका छन् ? किन गएका छन् ? को जाने को नजाने भन्नेबारे ज्ञान उत्पादन गर्ने ठाउँमा हामी तपाईंहरूसँग बसेर काम गर्न चाहन्छौं । किनकि यो विषयको हल हामीले खोज्नुपर्नेछ ।’

कांग्रेसले आन्तरिक एवं वैदेशिक रोजगारीको सम्बन्धमा चिन्तन गरिरहेकाले छिट्टै समाधान दिने विश्वास उनले व्यक्त गरेका छन् ।