कांग्रेसले सभामुखमा उम्मेद्वारी नदिएपछि गगनले भने: प्रतिपक्षको साथ निको देखिँदैन !

कांग्रेसले सभामुखमा उम्मेद्वारी नदिएपछि गगनले भने: प्रतिपक्षको साथ निको देखिँदैन !


काठमाडौं – प्रतिनिधिसभाको रिक्त सभामुख पदमा पार्टीले उम्मेदवारी नदिएकोमा सांसदसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले असन्तुष्टि पोखेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने तयारी गरे पनि संसदीय कार्यसमिति बैठकले सभामुख पद तटस्थ हुने भन्दै उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्य थापाले ट्वीट गर्दै द्वन्द्वकालको गम्भीर अपराधको वेवास्ता गर्न नहुने उल्लेख गरेका छन् ।

‘शान्ति प्रकृया विशेष राजनीतिक परिस्थिति हो तर यसको अर्थ द्वन्द्वका गम्भीर अपराधको वेवास्ता र दोषीको उन्मुक्ति होइन,’ थापाले भनेका छन्, ‘नेकपा अध्यक्षको हलुका अभिव्यक्ति, सत्तापक्षको निर्णय र प्रतिपक्षको साथ निको देखिँदैन । विशिष्ट पदको आवरणमा न्यायिक प्रक्रियामा पूर्ण्विराम लगाउने प्रयत्न नहोस् !’

सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ ।

सापकोटालाई माघ १२ गते सभामुख चयन भएको घोषणा जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।

सभामुख उम्मेदवारीका लागि मंगलबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय संसद सचिवालयले दिएको थियो ।