संविधान संशोधन गर्न संयन्त्र बन्छ : कांग्रेस महामन्त्री थापा

संविधान संशोधन गर्न संयन्त्र बन्छ : कांग्रेस महामन्त्री थापा


काठमाण्डु- कांग्रेस महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि संयन्त्र बनाइने बताएका छन् ।

सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने उनको भनाइ छ ।

काठमाडौंंमा आइतवार आयोजित कार्यक्रममा महामन्त्री थापाले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गरिने बताए ।

‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । केही दिनभित्रमा कांग्रेस र एमालेले एउटा संयन्त्र बनाउँछ। कांग्रेस र एमालेले आफ्नो बीचमा न्युनतम संविधानमा चलाउनुपर्ने, चलाउनसक्ने विषयमा समझदारी कायम गर्छौं । त्यसपछि अरु राजनीतिक दलहरुसँग संवाद गर्छौं,’ महामन्त्री थापाले भने ।

थापाले सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नपर्ने न्यूनतम कुराहरूको संशोधन हुने बताए । उनले संयन्त्रले सुरुमा कांग्रेस र एमालेबीच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरूसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुने उल्लेख गरे । उनले यो संविधान कांग्रेस र एमालेले चाहेर मात्रै संशोधन नहुने बताउँदै माओवादी, मधेसका अरू दलहरूसँग सहमति गरेर नै संशोधन हुने बताए ।

वर्तमान संविधान कांग्रेस–एमालेले चाहेर मात्रै संशोधन नहुने बताउँदै उनले त्यसका लागि माओवादी र मधेसका अन्य दलहरुसँग पनि संवाद गरिने बताए ।

महामन्त्री थापाले अहिलेको समझदारीअनुसार त्यो सरकार बदलिँदै गर्दा २०८४ सम्ममा प्रधानमन्त्री एक पटक बदलिने बताए । परिणाम जस्तोसुकै आएपनि आगामी २०८४ को निर्वाचनमा कांग्रेसले देशभरीका १६५ निर्वाचन क्षेत्र, प्रदेशमा ३३० स्थान, सबै नगरपालिका र वडामा एक्लै चुनाव लड्ने उनले भनाइ छ ।