व्यक्तिले गरेको अपराधको भारी पार्टीले बोक्दैन, अब पार्टी शुद्धीकरण थाल्नुपर्छ : गगन थापा

व्यक्तिले गरेको अपराधको भारी पार्टीले बोक्दैन, अब पार्टी शुद्धीकरण थाल्नुपर्छ : गगन थापा

सहकारी ठगी वा मान्छे बेचबिखनमा कांग्रेसकै जोसुकै नेता देखिए पनि कारबाही हुन्छ


काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न भएको पुष्टि भएका कांग्रेसका जोसुकैलाई पनि कारबाही हुने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यक्तिले गरेको अपराधको भारी पार्टीले नबोक्ने बताउँदै सहकारी होस् वा मान्छे बेचबिखनमा संलग्न दोषी देखिए जोसुकैलाई पनि कारबाही गर्ने बताएका हुन् ।

उनले भने, ‘हामी पार्टी शुद्धीकरणको प्रक्रियामा लाग्नुपर्छ । अब हामी गाली खाएर बस्ने होइन । आफ्नै पार्टीभित्र पनि कुरा उठाऔं, जहाँ कानून बनाउने हो, त्यसमा पनि कुरा उठाऔं । निर्दोष कोही पनि पर्नुहुन्न, दोषी जो भए पनि उम्कनुहुन्न ।’

महामन्त्री थापाले चर्चामा रहेका ४० भन्दा बढी भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउनुपर्ने बताए ।

उनले भने, ‘मैले प्रचण्डजीलाई अगाडि राखेरै भनेको हो । सरकार सँगै बसेको हुन्छ, यस्तो मायाप्रेम देखिन्छ, अहिले ४० वटा ललिता निवास, गिरीबन्धु, क्यान्टोनमेन्टलगायत जेसुकै हो । सबैको छानबिन गर्नुपर्छ ।’

उनले सरकारले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने बताएका छन् । संविधान संशोधन गर्दा गणतन्त्र, संघीयता, समावेशिता नचलाउने बताउदै उनले भने ‘अहिले पनि प्रधानमन्त्रीले हरेक १० दिनमा सरकार बदलिँदैन भन्नुपर्ने अवस्था छ । आज मन्त्री भइरहेकाले भोलि बिहान हुन्छु कि हुन्न भन्नेमा छ । सुरुमा अहिले सबैको भाषणा यो सरकार बदलिँदैनबाट सुरु हुन्छ । बाहिर देशहरुमा पनि गठबन्धनको सरकार नहुने होइन । त्यसमा पनि एउटा संस्कार र संस्कृति हुन्छ । त्यो हाम्रो स्वभावसँग मिलेन । त्यसैले अब निर्वाचनमा लोकप्रिय मत जसले बढी ल्याउँछ, त्यसले सरकार चलाउँछ । हामीलाई समावेशिता पनि चाहिएको छ। त्यसैले संविधान संशोधन गर्दा निर्वाचन प्रणालीमा काम गर्छौं ।’