हामी कोही पनि संघीयताप्रति उदार छैनौं, एकदमै अनुदार छौं : महामन्त्री थापा

हामी कोही पनि संघीयताप्रति उदार छैनौं, एकदमै अनुदार छौं : महामन्त्री थापा


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक अन्तक्र्रिया कार्यक्रममा उनले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू संघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताए ।

संघीयताप्रति अनुदार भएर विकासका कामहरू हुन नसक्ने उनले बताए । संघीयता सम्बन्धी कानून बनेनन् भने सरकारबाट बाहिरिन्छु भन्ने कुरा नयाँ र क्षेत्रीय दलहरूले समेत भन्न नसकेको टिप्पणी गरे ।

उनले भने, ‘हामी राजनीतिक दलका नेताहरू, म पनि हो त्यसमा, जसले यो शासकीय जिम्मेवारी लिन्छौं, हामी कोही पनि संघीयताप्रति उदार छैनौं । हामी एकदमै अनुदार छौं । हाम्रो यसमा रुचि छैन । मैले नयाँ दल पनि हेरें । क्षेत्रीय दलहरू पनि हेरें । सँगै सरकारमा पनि बस्यौं । जसले बाहिर जे–जे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि शर्त राख्दैन । निजामती विधेयक र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर आजसम्म कसैले भनेको सुनेको छैन । कसैले भन्दैन । सबैले बाहिर भन्छन्, सरकार चलाउने ठाउँमा गइसकेपछि अधिकारलाई कसरी मुठीमा राखिराख्ने भन्नेमै हुन्छौं । सबै मिल्छौं हामी । यसले गर्दा दुर्घटना हुने भयो । संघीयता नेपालमा अनवरत चल्छ, प्रदेशहरू रही नै राख्छन् । यो संवैधानिक व्यवस्थाको सबै हामी पक्षमा छौं तर हामी प्रदेशहरूलाई, सिंगो संघीय व्यवस्थालाई स्थानीय सरकार पनि योभित्र पर्छ । हामी यसलाई फङ्सनल बनाउनेवाला भएनौं अब । यसलाई प्रभावकारी बनाउने भएनौं । रिजल्ट ओरियन्टेट बनाउने भएनौं, यसबाट परिणाम नआउने भयो ।’

नतिजा राम्रो नआएपछि सबैले प्रदेशलाई भारी बोकाउने गरेको उनले बताए । प्रदेश र स्थानीय सरकारलाई दिने अधिकार दिनुपर्छ भनेर नै अहिलेको सरकारले काम गरिरहेको उनले बताए ।