प्रधानमन्त्री ओलीलाई गगन थापाको प्रश्नः उपचार गर्न किन बंगलादेश जानुहुन्न?

प्रधानमन्त्री ओलीलाई गगन थापाको प्रश्नः उपचार गर्न किन बंगलादेश जानुहुन्न?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा क्षेत्र सुधारका लागि जुुम्लामा आमरण अनशनरत डा. केसीको स्वास्थ्य नाजुक बन्दै गएका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगन थापा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खरो उत्रिएका छन्।

शनिबार राजधानीमा ‘डा.गोविन्द केसी बचाउ’ अभियानले आयोजना गरेको सभामा नेता थापाले भने, ‘प्रधानमन्त्री ज्यू, तपाईँ उपचार गर्न किन बंगलादेश नजानु भएको?’ मेडिकल कलेज खोलेपछि विदेशी पढ्न पढ्न आउँछन् र टन्न डलर कमाएर धनी हुन्छौं भन्ने भ्रम नपाल्न आग्रह गर्दै उनले भने, ‘यो पानी जहाज जस्तो होइन प्रधानमन्त्री ज्यू !’

प्रधानमन्त्री ओलीले काठमाडौंलाई मेडिकल कलेजको हव बनाउछु भनिरहेको उल्लेख गर्दै थापाले मेडिकल हब बनेको बंगलादेशमा उपचार गर्न किन डराएको भनेर भनेका हुन्।

पूर्व स्वास्थ्यमन्त्री रहेका थापाले माथेमा कार्यदलले सिफारिस गरे बमोजिम काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नहुने र एउटा विश्वविद्यालयले पाँचवटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुुने बताए।

‘डा केसी सत्यका लागि लड्ने जोगी हुन्, उनले पनि विज्ञकै कुरा लागू गर भनेका हुन्,’ उनले भने। माथेमा कार्यदलको प्रतिवेदनअनुसार विधेयक ल्याउनुुको विकल्प नरहेको उनले बताए।

जुम्लामा अनशनरत डा केसीको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो ।

राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा केसीको जीवनरक्षा गर्न माग गरेका हुन् ।

कार्यक्रममा चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न नसक्नुका कारणबारे स्पष्ट पार्न सरकारलाई आग्रह गरे।

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले सरकारसँग वार्ता गर्न डा केसीका पक्षबाट वार्ता समिति तयार रहेको भन्दै डा केसीलाई बलपूर्वक काठमाडौँ ल्याउन नसक्ने बताए।
माथेमा प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयकको माग गर्दै डा केसी जुम्लामा १५ दिनदेखि १५ औँ आमरण अनशनमा छन्।