काठमाडाैँ- नेपाली कांग्रेसका युवानेता गगन थापा आफूले गर्दा पुण्य, अरुले गर्दा पाप? भन्दै प्रधानमन्त्री केपी शर्मा अाेलीमार्थि खनिएका छन् । प्रतिनिधिसभा बैठकमा सांसद थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओली महालम्पसारवादी भएको आरोप लगाए।
‘प्रधानमन्त्रीले भन्नुभयो, देशको हित विपरीत काम गरेको छैन’, थापाले भने, ‘कसले भनेको थियो? न सडकमा कसैले भनेको थियो, न संसद्मा। यो हीनताबोध किन?’ ‘ओलीभन्दा अघि दुई जना प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग कुरा गर्नुभएको थियो’, थापाले भने, ‘तर, उसैगरी कुरा गर्दा कसैलाई सिंगडा खान गएको भनियो, कसैलाई घुँडा टेक्न गएको भनियो। आफूले गर्दा पुण्य, अरुले गर्दा पाप?’
सांसद थापाले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा ओलीले ‘भ्रमण ठीक छ, तर यो तामझाम हेर्दै गर्दा लम्पसारवादी भन्न मन लागेको छ’ भनेको स्मरण गरे । उनले अघि भने, ‘मेरो परिभाषा होइन, उहाँकै परिभाषामा सरकारको यो तामझाम हेर्दा मैले महालम्पसारवादी भन्न पाउने कि नपाउने ?’
थापाले अघि भने, ‘एमालेका युवाहरुले भारतीय दूतावास अगाडि गएर प्रदर्शन गर्न पाउने तर, आज कसैले आफ्नो पार्टीको कार्यालयमा ब्यानर राख्न नपाउने ? कसैले शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने ? यो कस्तो लम्पसारदवाद हो ? यो कस्तो चाकडी हो ?’
चुनाव प्रचारका क्रममा एमाले अध्यक्ष ओलीले ‘राष्ट्रवादको जिम्मा मैले मात्र लिएको छु’ भन्दै हिँडेको स्मरण गराउँदै सांसद थापाले भने, ‘हिजो अरुलाई कुरीकुरी गर्नुभएको थियो । आज नाङ्गै हिड्नु भएको हामीले देखाउनुपरेको छ ।’
प्रतिक्रिया