हेटौंडा – मकवानपुर प्रहरीले दुई सय तीन केजी ७२ ग्राम गाँजासहित छ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौं तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले गाँजासहित चार जनालाई मनहरी गाउँपालिका ९ खरङ्गाबाट पक्राउ गरेको हो।
८८ केजी सात सय २० ग्राम गाँजासहित उदयपुरका पदम हमाल, सिरहाका सुरेशकुमार महतो, सिरहाकै छेदी दास, मकवानपुरका कृष्णबहादुर मोक्तानलाई पक्राउ परेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धि गुरुङले बताए।
बीआर १ पी २३४५ नम्बरको बोलेरोमा फल्स बटम बनाएर लुकाई गाँजा सिराह हुँदै भारतर्फ लैजाँदै गर्दा बरामद भएको हो।पक्राउ परेका हमाल बिगत चार बर्षदेखि मकवानपुर जिल्लाका विभिन्न स्थानबाट गाँजा तथा चरेश संकलन गरेर भारतमा अवैध कारोबार गर्ने मुख्य व्यक्ति भएको प्रहरीको दाबी छ।
यस्तै बिहीबार एक सय १५ केजी गाँजासहित सिन्धुलीका दिनेश मगर र ज्ञानबहादुर पुडासैनीलाई हेटौंडा ११ सरस्वतीचोकबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए।
ना ३ च ४७६२ नम्बरको बोलेरोसहित पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन २०३३, अनुसार आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रतिक्रिया