आज भारत र श्रीलंकाबीच भिडन्त हुँदै, कसले जित्ला उपाधि ?

आज भारत र श्रीलंकाबीच भिडन्त हुँदै, कसले जित्ला उपाधि ?


काठमाण्डु- एसिया कप २०२३ को फाइनलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय अनुसार दिउँसो ३ ः १५ मा कोलोम्बोमा सुरु हुने भएको हो ।

भारत उत्कृष्ट ब्याटिङका साथ उपाधि जित्न चाहन्छ । घरेलु टोली श्रीलंका स्पिन आक्रामणसँगै घरेलु मैदान तथा दर्शकको फाइदा उठाउँदै उपाधि जित्ने दाउमा हुनेछ ।

भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । श्रीलंका र भारतको सुपर फोरमा ४.४ अंक थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् ।

श्रीलंका सुपर फोरमा भारतसँग ४१ रनले पराजित भएपनि पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । उता भारतले श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसँग भने ६ रनले पराजित भएको थियो ।

भारत आठौं र श्रीलंका सातौं पटक एसिया कप जित्ने सोचमा हुनेछन् । श्रीलंकाले २०२२ मा टि२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए । भारतको रोहित शर्मा र श्रीलंकाको दासुन शानकाले कप्तानी गर्नेछन् ।

श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।