काठमाण्डु – नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले अमेरिका र वेस्टइन्डिजमा जेठ २० गतेदेखि असार १५ गतेसम्म हुन गइरहेको आईसीसी मेन्स टी–२० क्रिकेट वर्ल्ड कप प्रतियोगितामा प्रहरीको तर्फबाट सहभागी हुन जान लागेका ६ जना खेलाडीलाई शुभकामनासहित बिदाइ गरेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा छनोट हुन सफल भई त्यसतर्फ जान लागेका खेलाडीहरू दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, ललित राजवंशी, करण केसी र सागर ढकाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच आईजीपी कुँवरले बिदाइ गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कुँवरले अन्तर्राष्ट्रिय स्तरमा हुने महत्त्वपूर्ण खेलकुद प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको गौरव बढेको उल्लेख गरे । भावनात्मक रूपमा खेलकुद जगतलाई उच्च बनाउन संगठन सकारात्मक रहेको उनले बताए ।
यी खेलाडीहरू हाम्रा हुन् भनेर चिन्न पाउँदा समग्र संगठनलाई गर्व महसूस भएको चर्चा गर्दै आईजीपी कुँवरले राष्ट्रिय टीमलाई विजय दिलाउँदै कीर्तिमान कायम गर्नका निमित्त लगनशील भई उच्च मनोबलका साथ खेल्न खेलाडीहरूलाई आग्रह गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया