दक्षिण अफ्रिकाको सान्त्वना जित

दक्षिण अफ्रिकाको सान्त्वना जित


काठमाण्डु – दक्षिण अफ्रिकाले भारतबिरुद्दको तीन खेलको टी-२० शृंखलाको अन्तिम खेलमा सान्त्वना जित हासिल गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ४९ रनले पराजित गर्यो । तीन विकेटको क्षतिमा दुई सय २७ रन बनाएको दक्षिण अफ्रिकाले भारतलाई १८.३ ओभरमा एक सय ७८ रनमा रोक्दै जित हासिल गर्यो ।

दक्षिण अफ्रिकाका ड्वाइन प्रेटोरियसले तीन विकेट लिए भने वायन पार्नेल, लुंगी एनगिडी र केशव माहाराजले दुई–दुई विकेट लिए । कागिसो रावाडाले एक विकेट लिए ।

घरेलु टोलीका लागि दीनेश कार्तिकले बनाएको ४६ रन सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । यस बाहेक दीपक चहरले ३१, ऋषव पन्तले २७, उमेश यादवले अविजित २० तथा हर्षल पटेलले १७ रन बनाए ।

यसअघि रिले रुसोले अविजित सतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २७ रनको योगफल तयार पार्‍यो ।

४८ बल खेलेका रुसोले आठ छक्का र सात चौकासहित अविजित सय रनको इनिङ खेले । ओपनर क्विन्टन डी ककले ६८ रन बनाए । डी ककले ४३ बलमा चार छक्का र ६ चौका प्रहार गरेका थिए ।

दक्षिण अफ्रिकाका लागि ट्रिस्टान स्टब्सले २३ तथा डेविड मिलरले अविजित १९ रनको योगदान गरे । स्टब्सले १८ बलमा एक छक्का र दुई चौका प्रहार गर्दा पाँच बल खेलेका मिलरले तीन छक्का हाने ।

भारतका दीपक चहर र उमेश यादवले एक–एक विकेट लिए । भारतले पहिलो दुई खेल जितेर शृंखला आफ्नो पक्षमा पारिसकेको थियो । पहिलो टी २० अन्तर्राष्ट्रियमा १६ रनको जित हासिल गरेको घरेलु टोली भारतले दोस्रो खेल आठ विकेटले जितेको थियो ।