उसुमा नीमाले जितिन् स्वर्ण पदक, विश्वबुद्ध र मीनाले जिते रजत

उसुमा नीमाले जितिन् स्वर्ण पदक, विश्वबुद्ध र मीनाले जिते रजत


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत उसुमा नीमा घर्तीमगरले स्वर्ण पदक जितेकी छन् ।

बिहीबार बिहान भएको खेलामा उनले नान्छवान अल राउन्डमा स्वर्ण पदक जितेकी हुन् । यससँगै नेपालले १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ३० पुगेको छ ।

नीमाले स्वर्ण जित्दा बंगलादेशको खेलाडी दोस्रो र श्रीलंकाको खेलाडी तेस्रो भएका छन् ।

सागको १२ औं संस्करणमा पनि स्वर्ण ल्याएकाले मलाई दबाब थियो,’ जितपछि उनले भनिन्, ‘तर मैले दबाब नलिएर आफ्नो ‘बेस्ट’ दिन्छु भनेर खेलेँ । सोचे जस्तै खेल्न सकेँ, खुशी छु ।’

भारतमा भएको १२औं सागमा नेपालले जम्मा तीन स्वर्ण जित्दा एक नीमाको नाममा रहृयो ।

घरेलु भूमिमा स्वर्ण जित्दा बेग्लै आनन्द मिलेको नीमाले सुनाइन् । ‘सारा नेपालीको अगाडि आफ्नै माटोमा टेकेर स्वर्ण जित्दाको आनन्द छुट्टै हुँदोरहेछ । त्यो खुशी शब्दमा बयान गर्न सक्दिनँ,’ उनले भनिन् ।

उनले आफ्नो सफलताको श्रेय अभिभावक र प्रशिक्षकहरुलाई दिइन् । ‘सफलताको श्रेय मेरो अभिभावकलाई दिन चाहन्छु । किनकी उहाँहरूले मलाई कहिल्यै रोक्नु भएन,’ उनले अघि भनिन्, ‘मेरो प्रशिक्षकहरूलाई यसको श्रेय जान्छ ।’

त्यसैगरी सागअन्तर्गत बिहीबारै भएको उसुको प्रतिस्पर्धामा नेपालले रजत पदक जितेको छ । उसुको ताउसु कुन्सु अलराउन्डमा नेपाली खेलाडी विश्वबुद्ध मगरले रजत पदक जितेका हुन् ।

यसैगरी उसुको ताइती छ्वाङमा नेपालकी मीनाले घलानले रजत पदक जितेकी छन् ।