एजेन्सी – एसिया कपको सुपर ४ अन्तर्गतको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि जित हात पारेपछि रंगशालामा नै दर्शकहरुबीच झगडा भएको छ ।
समर्थकहरुले एकअर्कामा कुर्सी हानेका थिए, नारा लगाए र झण्डा पनि फहराएका थिए । केही अफगान समर्थकले पाकिस्तानी समर्थकलाई कुटपिट पनि गरेका छन् ।
सुपर फोरको खेल अन्तिम ओभरसम्म अफगानिस्तानले जित्ने सम्भावना देखिन्थो । पाकिस्तानको अन्तिम विकेट क्रिजमा थियो र नसिम शाह स्ट्राइकमा थिए। पाकिस्तानलाई ६ बलमा १२ रन आवश्यक थियो ।
प्रतियोगिताभर उत्कृष्ट बलिङ गरिरहेका फजल्लाह फारुकीको हातमा बल थियो । पाकिस्तानको पराजय पक्का जस्तो लाग्थ्यो। तर, फारुकीले लगातार २ बलमा फुल टस बलिङ गरे र नसिमले दुवै बलमा छक्का हानेर पाकिस्तानलाई जित दिलाए । त्यसपछि रंगशालामा झगडा सुरु भयो ।
आसिफ र फरीदबीच झगडा पनि भएको थियो
खेलका क्रममा पाकिस्तानी ब्याट्सम्यान आसिफ र अफगानिस्तानका बलर फरीदबीच पनि झगडा भएको थियो । १९ औं ओभर बल गर्न आएका फरीदको चौथो बलमा आसिफले छक्का प्रहार गरे ।
अर्को बलमा फरीदले आसिफलाई क्याच आउट गराए। नन स्ट्राइकरमा गएका आसिफ र फलोअनमा जाने फरिद टकराए । त्यसपछि दुवैले एकअर्कालाई केही भने र आसिफले फरीदलाई हान्न ब्याट उठाएका थिए ।
प्रतिक्रिया