काठमाण्डु – गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागार चलान भएपछि गण्डकी प्रदेशसभाको एक सिट खाली भएको छ ।
मंगलबार बिहान काठमाडौँबाट पक्राउ परेका मनाङेलाई कारागार पठाइएपछि उनी निर्वाचित भएको सिट खाली भएको हो ।
तर, सर्वोच्चले प्रदेशसभालाई फैसलाबारे जानकारी नगराएकाले प्रदेशसभाले उनको सिट खाली भएको सूचना प्रकाशित गरेको छैन ।
मनाङेलाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरी ५ वर्ष कैद सुनाएको छ । २०६९ मा पाटन अदालतले गरेको फैसलालाई नै सर्वोच्चले सदर गरेको हो ।
मनाङे दोषी ठहर भएर कारागार गइसक्दा समेत सर्वोच्चले प्रदेश सभालाई फैसलाको जानकारी नपठाएकाले प्रदेशसभाले सूचना टाँसेको छैन । प्रदेशसभाले सूचना नटाँसेकाले उनको सांसद पद अहिलेसम्म कायमै छ ।
गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धितालले सर्वोच्चले फैसलाबारे औपचारिक जानकारी पठाएपछि सूचना टाँस्ने बताए । मनाङेविरुद्ध सर्वोच्चले २० कात्तिकमा फैसला गरेको थियो । फैसलाको पूर्णपाठ भने अझै सार्वजनिक भइसकेको छैन ।
प्रतिक्रिया