तनहुँमा ग्यास बोकेको बुलेट दुर्घटना, २ घार्इते

तनहुँमा ग्यास बोकेको बुलेट दुर्घटना, २ घार्इते


दमौली – पृथ्वी राजमार्गको दमौली डुम्रे सडकखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज बिहान ग्यास बोकेको एउटा बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । दुर्घटनामा बुलेटका चालक र सहचालक गम्भीर घाइते भएका छन् ।

भारतको हल्दीबारीबाट कास्कीको गगनगौडाको शक्ति ग्यास कम्पनीका लागि १८ टन खाना पकाउने एल।पी ग्यास बोकेको एम एल ओ वान ए ए ओ वान ओ वान नं को बुलेट दुर्घटना हुँदा भारत घर भएका चालक २२ वर्षीय छोटुलाल रुमार र सोही ठाउँका सहचालक २१ वर्षीय नितेशकुमार गम्भीर घाइते भएको प्रहरी उपरीक्षक उमेरराज जोशीले बताए ।

घाइते दुवै जनाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । शक्ति ग्यास बोकेको उक्त बुलेट आफैँ अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

बुलेट दुर्घटना भएको ठाउँमा अहिले सुरक्षाकर्मी तैनाथ गरिएको छ । ग्यास पड्कन सक्ने अवस्थालाई मध्यनजर गरी त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रहरी उपरीक्षक जोशीले बताए ।

स्थानीय बासिन्दालाई घरदेखि पर बस्न र सलाई, लाइटरजस्तो प्रज्वलनशील वस्तु प्रयोग नगर्न आग्रह गरिएको बताइएको छ । त्यहाँ वरिपरि आगो नबाल्न र घरदेखि टाढा बस्न बस्तीमा सर्कुलर गरिसकेको प्रहरीले जनाएको छ ।