‘गाउँ आएको बाटो’ जेठ २५ मा प्रदर्शन हुने

‘गाउँ आएको बाटो’ जेठ २५ मा प्रदर्शन हुने


काठमाण्डु–चलचित्र ‘गाउँ आएको बाटो’ जेठ २५ मा प्रदर्शन हुने भएको छ । यसको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई अन्य फिल्ममा भन्दा फरक अवतारमा देखिएका छन् ।

चलचित्रमा राईको परिपक्व अभिनय रहेको निर्देशक नवीन सुब्बाले बताएका छन् । ‘यो दयाहाङले अत्यन्त अब्बल काम गरेको फिल्म हो,’ सुब्बाले भने, ‘यो फिल्ममा दयाको अभिनयमा आएको बदलाव देखिन्छ, परिपक्व अभिनय छ ।’

यसमा राईसँगै अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राईको प्रमुख भूमिका छ ।

अभिनेता राईले चलचित्रका लागि १२ किलोग्राम तौल पनि घटाएका छन् । ‘विश्व बजार पुगेको यो फिल्म धेरै दर्शकले हेरिदिनुभयो भने यस किसिमको फिल्म बनाउन ऊर्जा मिल्छ,’ उनले भने ।

अभिनेत्री पशुपति राईले अभिनयको फरक पक्ष सिक्न पाएको बताइन् । अमोद राईले निर्माण गरेको यो चलचित्र निर्देशक सुब्बा र महेश राईले लेखेका हुन् । सामुदायिक लगानीमा बनेको चलचित्रलाई अमेरिकन छायाकार जोश हेरमले खिचेका हुन् ।

हाइडी लीको संगीत, केदार श्रेष्ठको कास्टिङ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको साउन्ड डिजाइन, सिकुमा राईको पहिरन रहेको चलचित्रलाई क्वान पुन लुङले सम्पादन गरेका छन् ।